इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आइतबार साँझ ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ।
प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले झापाबाट इलामतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार बझाङको बित्थडचिर गाउँपालिका–१ निवासी २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोटको छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरी गम्भीर घाइते भएका थिए। उपचारका लागि झापास्थित बिएन्डसी अस्पताल लगिएकोमा दुबैको उपचारका क्रममा मृत्यु भएको हो।
घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए।

