बझाङ: गणतन्त्र दिवस २०८२ को अवसरमा बझाङ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरूले “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ जिल्ला अस्पताल बझाङमा सामूहिक रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

मानवताको सेवा र दुर्घटनाका बेला रगतको अभावले कसैको ज्यान जान नपरोस् भन्ने उद्देश्यले गरिएको यस रक्तदान कार्यक्रम समाजप्रतिको उत्तरदायित्वप्रति प्रहरीको संवेदनशीलता र सक्रियताको प्रतीकका रूपमा हेरिएको छ ।
कार्यक्रममा सहभागी ट्राफिक प्रहरी प्रमुख विनोद विष्टले भन्नुभयो, “हाम्रो जीवनले अर्थपूर्ण बनोस् भने हामी अरुको सेवामा तत्पर हुनुपर्छ। सेवा गर्न सक्नु नै साँचो सुख र सन्तोषको आधार हो।”
उहाँले थप भन्नुभयो, “मानवमा जन्मसिद्ध विवेक र भावना हुन्छ । त्यसैले समाजप्रतिको उत्तरदायित्व, सहयोग र समर्पण स्वाभाविक रूपमा विकास हुनुपर्ने हो । सामूहिक रक्तदान यही मानवीय भावना र कर्तव्यबोधको अभिव्यक्ति हो।”
ट्राफिक प्रहरीका अनुसार नेपाल प्रहरी सधैँ अग्रपंक्तिमा रहेर मात्र अपराध नियन्त्रणमा होइन, सामाजिक सेवामा समेत सक्रिय रहनुपर्छ भन्ने सन्देश दिन चाहन्छ ।
“समाजप्रति जवाफदेही हुनु र समाजको हितका लागि आफूलाई समर्पित राख्नु प्रहरीको प्रमुख धर्म हो,” प्रमुख विष्टले जोड दिनुभयो ।
कार्यक्रमले प्रहरी र सर्वसाधारणबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिएको छ । सहभागी सबै प्रहरी कर्मचारीको रक्त नमुना अस्पतालको ब्लड बैंकमा सुरक्षित राखिनेछ, जसले भविष्यमा ज्यान बचाउने कार्यमा प्रयोग गरिनेछ ।

