काठमाडौं- आज गण्डकी प्रदेशको केही पहाडी स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ भने अन्य भागमा मौसम सामान्यतः सफा छ।
दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। साथै, यी प्रदेशका हिमाली क्षेत्रमा पनि एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यही अवस्था आज रातिसम्म निरन्तर रहने महाशाखाले जनाएको छ।
देशभर स्थानीय वायुले प्रभाव पार्दा अधिकतम र न्यूनतम तापक्रम बढेको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा अत्यधिक गर्मी हुने सम्भावना छ। विशेषगरी लुम्बिनी प्रदेशको तराईमा तातो लहर चल्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

