धनगढी- सुदुरपश्चिमका झण्डै ५९ हजार विद्याथी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनेभएका छन् ।
यहीँ चैत ७ गतेदेखि सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसइई) मा प्रदेशभरका ५८ हजार ९ सय ४३ जना विद्यार्थी सहभागी हुनेभएका हुन् ।
शिक्षा विकास निर्देशनालयका अनुसार गत वर्ष ५५ हजार १० जनाले परीक्षा दिएका थिए भने यस वर्ष ५८ हजार ९ सय ४३ जना सहभागी हुने भएका छन्।
प्रदेशभर परीक्षार्थीको सङ्ख्या वृद्धि भए पनि कैलालीमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । गत वर्ष १८ हजार ७ सय २० विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने यो वर्ष १९ हजार ८ सय ४८ जना विद्यार्थी परीक्षा दिने भएका छन् । त्यसै गरी, कञ्चनपुरमा पनि सोही अनुरूप वृद्धि भएको छ । अघिल्लो वर्ष १० हजार ३३५ जनाले परीक्षा दिएका थिए भने यो वर्ष परीक्षार्थीको सङ्ख्या ११ हजार ३०१ पुगेको छ।
यसै गरी, बैतडी, अछाम, बझाङ, डोटी, दार्चुला, बाजुरा र डडेलधुरामा पनि परीक्षार्थीको सङ्ख्या वृद्धि भएको छ । डोटीमा सबैभन्दा धेरै प्रतिशत वृद्धिदर देखिएको छ । अघिल्लो वर्ष ३ हजार २सय ९७ जना सहभागी भएकोमा यो वर्ष ४ हजार ६२ जना परीक्षा दिने भएका छन्।
पछिल्ला वर्षहरूमा शिक्षामा लगानी बढ्दै गएको छ । छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, तथा स्थानीय तहको सक्रियताका कारण विद्यार्थीलाई अध्ययनमा प्रेरित गर्न सकिएको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी कृष्ण बोहराले बताए । विशेष गरी ग्रामीण क्षेत्रमा विद्यालय छाड्ने प्रवृत्ति केही हदसम्म कम हुँदै गएको देखिएको छ ।
परीक्षा सहज बनाउन तयारी तीव्र पारिएको छ । प्रश्न पत्र व्यवस्थापनदेखि केन्द्र तोक्ने कार्यसम्मका कार्य भइसकेका छन् ।

