धनगढी – नेकपा एमाले कैलाली जिल्ला कमिटीमा युवा विद्यार्थी नेता किशोर शाहलाई जिम्मेवारी नदिइएको भन्दै युवा तथा विद्यार्थी कार्यकर्ताहरू आक्रोशित भएका छन्। धनगढीका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा शाहलाई उपेक्षा गरिएको गुनासो गर्दै पार्टी नेतृत्वमाथि सौतेलो व्यवहार गरेको आरोप लगाएका छन्।
गुनासो पोख्नेहरूमा अनेरास्ववियुका नेतादेखि एमाले उपमहानगर कमिटीका पदाधिकारीहरू सम्मिलित छन्। उनीहरूले शाह विगत १६ वर्षदेखि पार्टी र समाज सेवामा सक्रिय रहे पनि नेतृत्वले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन्। संगठन निर्माणमा उनको महत्वपूर्ण भूमिका रहेकाले जिल्ला कमिटी सदस्यमा मनोनित नगर्दा कार्यकर्ताहरू असन्तुष्ट बनेका छन्।
शाहको योगदान उपेक्षित?
अनेरास्ववियु कैलालीका अध्यक्षका रूपमा शाहले संगठनलाई जिल्लाभर स्ववियु चुनावमा पहिलो स्थानमा पुर्याएका थिए। आठौं जिल्ला अधिवेशनमा अत्यधिक मत ल्याएर जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका शाहलाई नवौं जिल्ला अधिवेशनमा प्राविधिक कारण देखाउँदै उम्मेदवारी दिन नदिएकोआरोप लागेको छ।
अधिवेशनपछि बनेको नयाँ नेतृत्वले शाहभन्दा जुनियर कार्यकर्ताहरूलाई जिल्ला सदस्यमा मनोनित गरेपछि असन्तुष्टि झन् बढेको कार्यकर्ताहरूको भनाइ छ। एक पार्टी कार्यकर्ताले भने, “पार्टी र समाजका लागि निरन्तर खटिएको व्यक्तिलाई नेतृत्वले बेवास्ता गर्नु अन्यायपूर्ण छ।”
पारदर्शिता र निष्पक्ष मूल्यांकनको माग
हालसम्म नेकपा एमाले कैलाली नेतृत्वले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। तर, कार्यकर्ताहरूले पार्टीभित्र पारदर्शिता र निष्पक्ष मूल्यांकनको माग गर्दै नेतृत्वको आलोचना गरिरहेका छन्। पार्टीले आसेपासे प्रवृत्ति त्याग्नुपर्ने र योग्य तथा समर्पित कार्यकर्ताहरूलाई उचित सम्मान दिनुपर्ने माग तीव्र रूपमा उठिरहेको छ।

