काठमाडौं – भाइरल बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान उनको निधन भएको हो। अस्पताल स्रोतका अनुसार सचिनको निधन बिहान १० बजे भएको हो।
सचिन परियारले सानै उमेरमा धेरै गीत गाएर चर्चा कमाएका थिए। उनले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायतका गीत गाएका थिए, जुन निकै लोकप्रिय बनेका थिए।
संगीत क्षेत्रमा मात्र नभई अभिनयमा पनि सचिनले आफ्नो प्रतिभा देखाएका थिए। अभिनेता राजेश हमालसँग म्युजिक भिडियोमा अभिनय गर्नेदेखि हास्य टेलीश्रृंखला ‘मेरी बास्सै’मा अभिनयसम्म गरेका थिए।
सानै उमेरदेखि भाइरल बनेका बालगायकको असमयिक निधनले संगीत र मनोरञ्जन क्षेत्रलाई ठूलो क्षति पुगेको छ। प्रशंसक र शुभचिन्तकले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
के भएको थियो सचिनलाई ?
उपचारका संलग्न चिकित्सकहरूका अनुसार सचिन परियारको मस्तिष्कमा पानी जम्ने समस्या थियो । त्यसका साथै उनलाई डाइबिटिज इन्सिपिडसको पनि समस्या थियो । डाइबिटिज इन्सिपिडसको समस्या भएका व्यक्तिको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्छ । यो निकै दुर्लभ खालको समस्या हो ।
यस्तै करिब ६ महिनाअघि टिचिङमा भर्ना भएर उपचार गराउँदा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा बताएअनुसार पछिल्लो समय भने उनी संक्रमणका कारण भर्ना भएका थिए । अस्पताल भर्ना गर्दा उनी ‘सेप्टिक सक’मा थिए । त्यसको उपचार भइरहेकै समयमा उनको मृत्यु भएको हो ।
शोक सन्देश
यस दु:खद घडीमा, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।

