बझाङ : बझाङका १२ स्थानिय तहमध्ये अझैपनि ७ मा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको छ । स्थानीय तहको दोस्रो पटक निर्वाचन भएर जनप्रतिनिधि आउँदा समेत स्थानीय तहमा कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको समस्या समाधान हुन सकेको छैन ।
प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हुँदा सात वटा स्थानीय तहको प्रशासकीय सेवा प्रभावित भएको हो । जिल्लाका १२ स्थानीय तह मध्ये ६ पालिका निमित्तको भरमा चलेका छन् । साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, बुङ्गल नगरपालिका, तलकोट गाउँपालिका, दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका निमित्तको भरमा सञ्चालन भइरहेका छन् । खप्तडछान्ना गाउँपालिका भने प्रमुख प्रशासकीय अधिकृत विहिन छ । गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत हरि प्रशाद सुवेदीको मष्टा गाउँपालिकामा सरुवा भएपछि एक हप्तादेखि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको हो । गाउँपालिकामा केहि दिनमै बैतडीबाट नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइने पत्र आइसकेको सुचना अधिकारी ऐन बहादुर रोकायाले बताउनुभयो ।
अहिले जिल्लाको जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, बित्थडचिर गाउँपालिका, केदारस्यु गाउँपालिका र थलारा गाउँपालिकामा मात्रै प्रमुख प्रशासकीय अधिकृतले कार्यभार सम्हालिरहेका छन् । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले पठाउने व्यवस्था रहेकाले सबै स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा लामो समयदेखि स्थानीय तहहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालनमा रहेको साइपाल गाउँपालिका अध्यक्ष मान बहादुर बोहोराले बताए । स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन बनेपछि स्थानीय सेवा प्रवाह प्रभावित भइरहेको बताइएको छ ।
संघीय मन्त्रालयले सबै स्थानीय तहमा पूर्ण दरबन्दीका कर्मचारी खटाउने काम गर्न सकेको छैन । पूर्णरुपमा दरबन्दीका कर्मचारी खटाउन नसक्दा मन्त्रालयले निमित्तले चलाउन पाउने व्यवस्था गरेकाले त्यहीअनुसार चलेको छ । स्थानीय तहहरुमा कर्मचारीको अभाव छ त्यसमा भएका कर्मचारीहरु पनि दक्ष कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या आएरहेको छ । मुलुक संघीयतामा गएर स्थानीय तहको स्थापना भएसँगै तोकिएको श्रेणीको प्रमुख प्रशासकिय अधिकृतको अभाव झेल्नुपरेको छ । सरकारको ध्यान कर्मचारी व्यवस्थापनमा जान नसक्दा स्थानीय तहको सेवा प्रभावित बन्दै गएको छ । मन्त्रालयको वितरणअनुसार देशभरका ७ सय ५३ स्थानीय तहमध्ये अझै पनि १९० वटा गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत खाली रहेका छन् ।

