हिजो प्रदेश सरकारसँग विज्ञापन खोल्न माग गर्दै सडकमा उत्रिएका युवा आज त्यही विज्ञापनबाट परीक्षामा सफल हुँदै सिफारिस सूचीमा
जीवनमा केही संयोग यस्ता हुन्छन्, जसले संघर्षका दिनहरूलाई उपलब्धिको क्षणसँग जोडिदिन्छन्। सुदूरपश्चिम प्रदेशमा लोकसेवा विज्ञापन खोल्न माग गर्दै आन्दोलनमा उत्रिएका सन्तोष रावलका लागि अहिले त्यस्तै सुखद क्षण आएको छ। हिजो प्रदेश सरकारसँग विज्ञापन खोल्न माग गर्दै सडकमा आवाज उठाउने रावल आज त्यही विज्ञापनबाट लोकसेवा परीक्षा उत्तीर्ण गर्दै सिफारिस सूचीमा नाम निकाल्न सफल भएका छन्।नेपालमा एसईई, कक्षा १२ वा स्नातक उत्तीर्ण गरेपछि धेरै युवाले लोकसेवा आयोगको परीक्षा दिने सपना देख्छन्। पहिलो प्रयासमा सफल नभएपछि कतिपय युवा विदेश जाने बाटो रोज्छन् । तर रावल भने असफलताले आफ्नो सपना रोक्न नसक्ने अठोटका साथ निरन्तर तयारीमा जुटे । आफ्नै देशमा बसेर केही गर्ने, आफ्नै माटोमा आफ्नो क्षमता उपयोग गर्ने र सार्वजनिक सेवामार्फत देश तथा जनताको सेवा गर्ने उनको सोच थियो ।
उनका समकालीन साथीहरू कोरिया, क्यानडा, जापान र बेलायतजस्ता देशमा अध्ययन तथा रोजगारीका लागि जाने तयारी गरिरहेका बेला रावल भने नेपालमै आफ्नो भविष्य खोजिरहेका थिए । विदेश जानु नै सफलताको एकमात्र बाटो होइन भन्ने सोचका साथ उनले लोकसेवाको तयारी सुरु गरे।
तर तयारीका क्रममा उनले सुदूरपश्चिम प्रदेशमा लोकसेवा विज्ञापन खुल्न नसक्ने कानुनी तथा प्रशासनिक जटिलतासँग सामना गर्नुपर्यो । प्रदेश निजामती सेवा र स्थानीय सेवासम्बन्धी आवश्यक कानुनी व्यवस्था तथा नियमावलीको अभावले पदपूर्ति प्रक्रिया प्रभावित भइरहेको थियो। हजारौँ विद्यार्थी तयारीमा जुटे पनि विज्ञापन नखुल्दा भविष्य अन्योलमा परेको अवस्थाले उनलाई व्यक्तिगत चिन्ताभन्दा सामूहिक समस्या समाधानतर्फ सोच्न प्रेरित गर्यो ।
त्यसपछि रावलसहित लोकसेवा तयारी गरिरहेका युवाहरूले कानुनी व्यवस्था सुधार र विज्ञापन खुलाउन माग गर्दै आन्दोलन सुरु गरे। २०८१ माघ १८ गते आसपास उनीहरू सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि आन्दोलनमा उत्रिएका थिए। आन्दोलनको मुख्य माग स्थानीय सेवा गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनी व्यवस्थामा आवश्यक संशोधन गर्नु थियो ।
आन्दोलनका क्रममा रावलसहित सात जना साथीहरू हिरासतमा समेत परे। त्यसपछि आन्दोलन थप सशक्त बन्यो। तत्कालीन मुख्यमन्त्रीसँग वार्ताको सहमति भएपछि आन्दोलन स्थगित गरिएको थियो। माघ २४ गते आसपास पहिलो चरणको वार्ता भएको र त्यसपछि सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ प्रदेश राजपत्रमा प्रकाशित भएको र मागहरू आंशिक रूपमा सम्बोधन भएको रावलले आफ्नो अनुभवमा उल्लेख गरेका छन् ।
तर ऐन प्रकाशित भएपछि पनि नियमावली तथा कार्यान्वयन प्रक्रियाको विषय बाँकी थियो। विज्ञापन खुलाउन माग गर्दै रावल र उनका साथीहरूले प्रदेश लोकसेवा आयोग, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश सभा र मुख्यमन्त्री कार्यालयसम्म पटकपटक पुगेर छलफल र आग्रह गरे ।
त्यही क्रममा तत्कालीन मुख्यमन्त्रीसँगको भेटमा युवाहरूलाई पढाइभन्दा राजनीतिक नेतृत्व बन्न खोजेको आरोपसमेत लागेको रावल सम्झन्छन् । विज्ञापन खोल्न माग गर्दै पुगेका युवालाई पढाइ नगरेर भेटघाट मात्रै गरेर के हुन्छ भन्ने प्रश्न गरिएको प्रसंगमा रावलले आफूहरूलाई विज्ञापन खोलिदिन आग्रह गर्दै त्यसै विज्ञापनमा नाम निकालेर देखाउने जवाफ दिएका थिए ।
“तपाईँ विज्ञापन खोल्नुहोस्, हामी त्यही विज्ञापनमा नाम निकाल्छौँ ।” त्यतिबेला आफूले बोलेको उक्त वाक्य केवल आवेगमा व्यक्त गरिएको चुनौती नभई आत्मविश्वास, संकल्प र आफूलाई प्रमाणित गर्ने प्रतिबद्धता भएको रावल बताउँछन् ।
आज समयले त्यही वाक्यलाई उपलब्धिमा परिणत गरिदिएको छ। विज्ञापन खोल्न माग गर्दै सडकमा आन्दोलन गर्ने युवा आज त्यही विज्ञापनबाट परीक्षा उत्तीर्ण हुँदै सिफारिस सूचीमा नाम देख्न सफल भएका छन्। उनका लागि यो केवल व्यक्तिगत सफलता मात्रै होइन, आफूले विश्वास गरेको विचार, आफ्नो पुस्ताको भविष्य र सार्वजनिक अवसरका लागि गरिएको संघर्षको परिणाम पनि हो ।
रावलका अनुसार आन्दोलन नगरेको भए आफू पनि विदेश जाने बाटो रोज्न सक्थेँ होला । तर आन्दोलनले आफ्ना लागि मात्रै होइन, सुदूरपश्चिमका अन्य युवाका लागि पनि अवसरको ढोका खोल्न सहयोग गरेको विश्वास उनी गर्छन्। यसबाट लोकसेवा तयारीमा रहेका युवामा आशा, जागरण र निरन्तर प्रयास गर्ने हौसला बढेको उनको भनाइ छ ।
अब विद्यार्थीको हकहित, सार्वजनिक अवसर र कानुनी व्यवस्थाका लागि सडकबाट आवाज उठाउँदै आएका रावलको यात्रा सार्वजनिक प्रशासनतर्फ अघि बढ्दैछ । हिजो सरकारलाई खबरदारी गर्ने हात, आवाज र कलम अब सार्वजनिक प्रशासनमार्फत सुशासन, प्रशासनिक सुधार र जनताको सेवामा समर्पित गर्ने उनको प्रतिबद्धता छ ।

