कैलाली। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा देखिएका चुनौती, शैक्षिक कार्यक्रमको सुरुवात तथा संस्थागत विकासका विषयमा विश्वविद्यालयका कुलपति प्राध्यापक डा. सुनिल कुमार जोशी र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष माहाओम राज जोशीबीच अर्थपूर्ण भेटघाट तथा छलफल भएको छ।
भेटमा विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन, आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन, रिक्त पदमा पदपूर्ति र संस्थागत विकासका विषयमा सकारात्मक छलफल भएको थियो।
विश्वविद्यालयले एमबीबीएसमा ५०, बीएस्सी नर्सिङमा २०, मेडिकल ल्याबोरेटरी टेक्नोलोजीमा १० र बी अप्टोमेट्रीमा १० गरी कुल ९० सिटमा शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाउनु सुदूरपश्चिमका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै अध्यक्ष जोशीले यसै शैक्षिक सत्रदेखि जसरी पनि पठनपाठन सुरु गर्नुपर्नेमा जोड दिनुभयो।
डा. गोविन्द केसीको सत्याग्रहसँग जोडिएका गुणस्तरीय चिकित्सा शिक्षा, आवश्यक पूर्वाधार र निर्धारित मापदण्डका विषयलाई सम्मान गर्दै ती विषयलाई विश्वविद्यालय सञ्चालन रोक्ने आधार नभई सुधार र सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने धारणा राखिएको थियो। सरकारसँग भएका सहमति र प्रतिबद्धता कार्यान्वयन गर्दै विश्वविद्यालय सञ्चालनमा अनावश्यक विवाद र अवरोध सिर्जना हुन नदिनुपर्ने विषयमा समेत छलफल भएको थियो।
त्यसैगरी, विश्वविद्यालयको स्वायत्तता कायम राख्दै रिक्त पदहरूमा योग्य र दक्ष जनशक्तिको पारदर्शी तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट पदपूर्ति गर्नुपर्ने र शैक्षिक कार्यक्रमलाई तीव्रताका साथ अघि बढाउनुपर्नेमा जोड दिइएको थियो।
अध्यक्ष जोशीले गेटा विश्वविद्यालय सुदूरपश्चिमको स्वास्थ्य शिक्षा, दक्ष जनशक्ति उत्पादन र समग्र स्वास्थ्य सेवा सुधारको ऐतिहासिक आधार भएको उल्लेख गर्दै यसको सञ्चालनका लागि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले निरन्तर सहकार्य, समन्वय र खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

