कैलाली । विदेश जान युवाहरूले होडबाजी गरिरहेका बेला केही युवाहरूले भने आफ्नै माटोमा केही गरेर देखाउने मनोभावनासहित प्रेरणादायी काम गरेका छन् । बझाङदीप क्याम्पस झोताका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति सूर्य जोशी नेतृत्वको युवा टिमले धनगढी उपमहानगरपालिका–१२, फुलबारीमा व्यवसायिक लहरे तरकारी खेती सुरु गरेका छन् ।
उनको टिममा कृषि क्षेत्रमा रुचि राख्ने तथा बाली विज्ञान विषय अध्ययनरत होनहार युवा सुदीप बोहरा र हरिश बोहरा छन् । तीनै जना युवाहरूले लगभग २० कट्ठा जग्गा भाडामा लिएर आधुनिक शैलीमा व्यवसायिक तरिकाले तरकारी खेती थालेका हुन् ।
वास्तविक उत्पादन र आत्मनिर्भरताको यात्रामा होमिएका यी युवाहरूले गोलभेँडा, काँक्रो, घिरौंला, बोडी, सिमी लगायतका लहरे तरकारीहरू लगाइरहेका छन् । नियमित सिंचाइ, जैविक मल र रोग–नियन्त्रण प्रणालीको प्रयोग गर्दै उनीहरूले वैज्ञानिक तरिकाबाट खेती गरिरहेका छन् ।
सभापति सूर्य जोशीले भने देशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास राखेर हामीले यो सुरु गरेका हौँ । विदेशको सपना देख्नु नराम्रो होइन, तर आफ्नै देशमा माटोको माया गरेर केही गर्न सके त्यसले दीर्घकालीन सन्तुष्टि दिन्छ ।
युवाहरूलाई कृषितर्फ आकर्षित गर्ने प्रेरणाको स्रोत बन्न थालेका सूर्य, सुदीप र हरिशको टिमले अब विस्तारमा जान, सहकारीको मोडल निर्माण गर्न र स्वरोजगारको अवसर थप विकास गर्न समेत योजना बनाएका छन् ।
बझाङ , डोटी लगायत हिमाली जिल्लाबाट आएका युवाहरूले तराईमा जमिन भाडामा लिएर आधुनिक कृषिको अभ्यास गर्न थालेको यो उदाहरणले देशको कृषिक्षेत्रमा नयाँ सम्भावनाको संकेत दिएको छ।

