दार्चुला । ब्यास गाउँपालिकामा सञ्चालन गरिएको ५२ दिने हातेहोजेरी (सिलाइ–बुनाइ) तालिम सम्पन्न भएको छ । २०८१ साल वैशाख २८ गतेदेखि सुरु भएको तालिम २०८२ असार २० गते सम्पन्न भएको हो ।
स्थानीय प्रशिक्षक जानकी विष्टको सहजीकरणमा सञ्चालित उक्त तालिममा सहभागी महिलाहरूले विद्यालय पोशाक (स्कुल ड्रेस) सिलाउनेदेखि अन्य सिलाइका सीपहरू सिकेका छन् । तालिममा सहभागी महिलाहरू अहिले आफ्नै गाउँमै सुइट सिलाउने सीपमा दक्ष बनेका छन् ।
प्रशिक्षक विष्टका अनुसार तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्ने दिशामा मार्ग प्रशस्त गरेको छ । अब हामी स्कुलको सुइट बनाउने काम आफैँ गर्न सक्छौँ, अरुको भर पर्नु पर्दैन, विष्टले भनिन्, तर यो तालिम केवल तालिममै सीमित नहोस् भन्ने चाहना छ । बिप्रेषणमा निर्भर हुनुको सट्टा स्थानीयस्तरमा साना उद्यम सञ्चालन गर्न सघाउ पुर्याइयो भने महिलाहरू घरमै बसेर कमाउन सक्छन् ।
उनले तालिमपछि पनि स्थानीय सरकार र सरोकारवालाहरूको निरन्तर सहयोगको अपेक्षा गरेकी छिन् । केही मेसिन, प्रारम्भिक सहयोग र बजार सञ्जालका लागि ब्यास गाउँपालिकाको साथ आवश्यक छ, उनले भनिन्, यस्तो अवसर प्रदान गरिदिनु भएकोमा ब्यास गाउँपालिका र नन्दसिंह धामी सरप्रति आभार व्यक्त गर्न चाहन्छु ।
महिला उद्यमशीलताको विकास, सीपको अभिवृद्धि र रोजगारी सिर्जनाका लागि प्रभावकारी मानिएको यस्ता तालिमहरूले दार्चुलाका ग्रामीण क्षेत्रका महिलाहरूको जीवनशैली परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

