। सुदूरपश्चिमेली नेपाली समाज यूएईको दुबईक्षेत्रीय समितिको अध्यक्षमा अशोक बोगटी सर्वसम्मत चयन भएका छन् । सुदूरपश्चिमेली नेपाली समाज यूएईको छैटौं केन्द्रिय कार्यसमितिको पाँचौं मासिक बैठकले बोगटीको नेतृत्वमा २० सदस्यीय कार्यसमिति गठन गरेको हो ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष सरिता साउँद, सचिव चन्द्रिका ओझा, सहसचिव गोबिन्द खड्का, कोषाध्यक्ष अविनास बोगटी र सहकोषाध्यक्ष विद्य बिष्ट चयन भएका छन्। सदस्यहरुमा करिश्मा बोहरा, पूजा खत्री, दिपा नागरी, देवकी जोशी, निर्मला बिष्ट, महेन्द्र शाही, आनन्द ऐर, राज्यश्वरी बिक, मथुरा भुल, सुनिता भण्डारी, तारा भुल, कोपिला गौतम, टीका बिष्ट र मनोज बिष्ट रहेका छन् ।
बैठक समाजका अध्यक्ष प्रकाशदत्त बडुको अध्यक्षतामा बरदुबईस्थित लुम्बिनी ड्रीम गेस्ट हाउसमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थापक सदस्य जनकराज भट्ट, दामोदर ठगुन्ना, शिवराज तिमील्सैना लगायत केन्द्रीय पदाधिकारीहरूको उपस्थिति थियो।
अशोक बोगटी — दुःखसुखका साथी
अशोक बोगटी दुबईमा कार्यरत सुदूरपश्चिमेली समुदायका लागि केवल अध्यक्ष मात्र होइनन्, पीडामा साथ दिने अभिभावक पनि हुन्। अछामबाट कैलाली झरेका बोगटी करिब एक दशकदेखि यूएईमा रही डाइभिङ पेशामा संलग्न छन्। उनी सुदूरपश्चिमेली समाजमा प्रारम्भदेखि नै सक्रिय रहँदै आएका छन् । बोगटीले दुबईमा समस्यामा परेका नेपालीहरूप्रति विशेष सहानुभूति र सहयोगभाव प्रकट गर्दै आएका छन् ।
विदेशमा अलपत्र परेका, दुर्घटनामा परेर ज्यान गुमाएका नेपालीको शव नेपाल पठाउन सहयोग गर्नु, खाना र बास नपाएका श्रमिकलाई व्यवस्थापन गर्नु, कम्पनीबाट निकालिएका वा उपचार नपाएका कामदारलाई सहारा दिनु — यस्ता थुप्रै मानवीय कार्यमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।
सामाजिक सेवामा समर्पित, मृदुभाषी र सहयोगी स्वभावका कारण बोगटी दुबईमा नेपाली समुदायबीच उच्च सम्मानित व्यक्तिका रूपमा चिनिन्छन् । अध्यक्षमा पुनः चयन भएपछि उनले सेवा, सहयोग र समर्पणको भावनाका साथ समुदायको हितमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

