धनगढी, चैत्र १६ – कैलालीको धनगढी उप-महानगरपालिका वडा नम्बर ३, मिलनचोक क्षेत्रबाट लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र लागुऔषध ब्युरो धनगढीको संयुक्त टोलीले २९ वर्षीय कृष्ण खड्कालाई पक्राउ गरेको हो।
शनिबार दिउँसो १:४५ बजे शंका लागी चेकजाँच गर्दा खड्काको साथबाट ३ ग्राम ८२० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ। साथै, प्रहरी टोलीले उनको साथमा रहेको सु.प.प्र.०१००९ प ७२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीका सह-प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले भने, “हाम्रो टोलीले विशेष सूचनाका आधारमा खड्कालाई पक्राउ गरेको हो। निजको साथबाट लागुऔषध फेला परेको छ, र आवश्यक अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको छ।”
प्रहरीले खड्काविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा कानूनी कारबाही अगाडि बढाइने जनाएको छ।

