काठमाडौँ, चन्द्रागिरी – चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेकपोस्टमा प्रहरीको संयुक्त टोलीले खैरो हेरोईनसहित तीन जनालाई पक्राउ गरेको छ। माघ १० गते बिहान १२:२५ बजे काकडभिट्टादेखि काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस (प्र.१-०१-००६ ख ४७९६) मा चेकजाँच गर्दा १५० ग्राम खैरो हेरोईन जस्तो देखिने लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
नागढुंगा प्रहरी प्रभाग र लागू औषध नियन्त्रण ब्युरोको टोलीले बसको साइड ए को १३ नम्बर सिटमा सवार गोबिन्द बालालाई शंकास्पद रूपमा चेकजाँच गर्दा लुकाई छिपाई ल्याइएको लागू औषध फेला परेको थियो। प्रारम्भिक सोधपुछमा उक्त लागू औषध रमन महर्जन र बिनोद तामाङले काठमाडौँ ल्याउन लगाएको गोबिन्द बालाले स्वीकार गरेका थिए।
प्रहरीले थप अनुसन्धानको क्रममा लागू औषध लिन बसेका रमन महर्जन र बिनोद तामाङलाई बा ५१ प ७५५८ नम्बरको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
नागढुंगा का प्रहरी इन्चार्ज हिक्मत बहादुर थापाका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ। उनले लागू औषध ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गरिने बताए।
पक्राउ परेका व्यक्तिहरू:
१. गोबिन्द बाला (३७), भारत, उत्तर दिनेशपुर।
२. रमन महर्जन (२६), काठमाडौँ, चन्द्रागिरी नगरपालिका–११।
३. बिनोद तामाङ (३८), धादिङ, थाक्रे गाउँपालिका–११।
बरामद सामग्री:
१. १५० ग्राम खैरो हेरोईन जस्तो देखिने लागू औषध।
२. बा ५१ प ७५५८ नम्बरको रातो रंगको २२० सिसि पल्सर मोटरसाइकल।
पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

