देशभर २२ लाख बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ— आज र भोलि (शनिबार र आइतबार) देशभर करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो औषधि वितरण गर्न लागेको हो।
स्वास्थ्य सेवा विभागका अनुसार, ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। त्यसका साथै बालभिटा पनि दिइने र बालबालिकाको पोषण अवस्था परीक्षण गरिनेछ।
स्वास्थ्यकर्मीहरूका अनुसार कुपोषण अझै पनि बालबालिकामाझ गम्भीर समस्या हो। भिटामिन ‘ए’ को कमीले दृष्टिमा असर पर्नुका साथै रतन्धो, आँखामा घाउ जस्ता समस्या देखिने भएकाले नियमित रूपमा औषधि खुवाइँदै आएको छ।
जुका सरसफाइको अभावमा शरीरमा पस्ने गर्छ र आन्द्रामा घाउ बनाएर पोषक तत्त्व सोस्छ, जसले गर्दा बच्चा कुपोषित बन्दै जान्छ। भिटामिन ‘ए’ ले दृष्टि सुधार ...












