कुकुर तिहार र लक्ष्मी पूजा आज, घरघरमा दीपावलीको तयारी
नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै छ। बिहान कुकुरको पूजा गरेर साँझ धनधान्य तथा समृद्धिकी देवी लक्ष्मीको आराधना गर्ने धार्मिक परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज लक्ष्मी पूजा, कुकुर तिहार, नरक चतुर्दशी तथा सुखरात्रि परेको छ। यस अवसरमा बिहान कुकुरलाई माला लगाइदिने, निधारमा टीका लगाउने र मीठा परिकार खुवाएर पूजा गर्ने चलन छ।
हिन्दू धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत तथा रक्षकका रूपमा लिइन्छ। इमानदार, आज्ञाकारी र बफादार जनावरका रूपमा सम्मान गरिने कुकुरको पूजा तिहारको महत्वपूर्ण परम्परामध्ये एक हो। महाभारतमा समेत युधिष्ठिरले आफूसँगै रहेको कुकुरलाई त्यागेर स्वर्ग जान अस्वीकार गरेको प्रसङ्ग उल्लेख छ।
यसैगरी, साँझ घरघरमा दीप प्रज्वलन गरी धनकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीको स्वागतका लागि घर, आँगन र प...

