चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि सत्याग्रह थाल्ने घोषणा गरेका छन्। दार्चुलाबाट बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारले जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षा सुधारका लागि आफूले दिएको समयसीमा पूरा नगरेको भन्दै सत्याग्रह घोषणा गरेका हुन्।
डा. केसीले सरकारलाई आफ्ना माग पूरा गर्न साउन ५ गतेसम्मको समयसीमा दिएका थिए। तर, उक्त समयसीमाभित्र माग सम्बोधन नभएको भन्दै उनले पुनः सत्याग्रहमा बस्ने घोषणा गरेका हुन्।
उनले सरकारसमक्ष विभिन्न ५ बुँदे माग अघि सारेका छन्। स्वार्थको द्वन्द्व हुने गरी सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी तथा स्वार्थपरक नियुक्ति तत्काल बदर गर्नुपर्ने उनको माग छ। साथै, चिकित्सा शिक्षा ऐनका विवादित प्रावधान शीघ्र संशोधन गर्नुपर्ने उनले बताएका छन्।
सरकारले चिकित्सा शिक्षा आयोगमा प्राध्यापक देवेन्द्र खत्रीलाई नियुक्त गरेको छ। उनी नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिए। त्यस्तै, प्राध्यापक सुनिलकुमार जोशी सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्।
डा. केसीले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा आवश्यक मापदण्ड र पूर्वाधारबिना निजी मेडिकल कलेजमा विद्यार्थीको सिट वृद्धि गर्ने निर्णय वा प्रस्ताव तत्काल खारेज गर्नुपर्ने माग पनि अघि सारेका छन्।
त्यस्तै, चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउन कानुनी प्रावधान कार्यान्वयन गर्नुपर्ने र विगतका सरकारसँग भएका लिखित सहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ।

