धनगढी- कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले चैतन्य विद्यार्थी महोत्सव २०८२ दोस्रो संस्करण आयोजना गर्ने भएको छ। गत वर्षदेखि सुरु गरिएको विद्यार्थी महोत्सव यसवर्ष दोस्रो संस्करण यहीँ पौष २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको हो।
आइतबार विद्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत पाठशालाले “ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह” भन्ने मूल नारासहित महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएको छ।
महोत्सवले विद्यार्थीहरूको शैक्षिक, बौद्धिक, वैज्ञानिक, सिर्जनशील तथा सांस्कृतिक प्रतिभा उजागर गर्ने लक्ष्य लिएको चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले बताए। कक्षाकोठामा सीमित शिक्षाभन्दा बाहिर विद्यार्थीलाई व्यावहारिक, जीवनोपयोगी र मूल्यपरक सिकाइको अनुभव प्रदान गर्ने उद्देश्य रहेको आयोजक पक्षको विश्वास छ।
महोत्सवमार्फत विद्यार्थीहरूमा आत्मविश्वास, आत्मअनुशासन, नेतृत्व क्षमता, सिर्जनशील सोच, सामाजिक उत्तरदायित्व, सांस्कृतिक चेतना तथा समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
महोत्सवमा कैलालीसहित आसपासका जिल्लाका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

