आजदेखि एक महिनासम्म मनाइने स्वस्थानी व्रत तथा माघ स्नान औपचारिक रूपमा शुरू भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने र कथावाचन गर्ने परम्परा रहिआएको छ ।
स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यमा वर्णित कुमार र अगस्त्य ऋषिबीचको संवादमा आधारित स्वस्थानी व्रत कथा सुन्ने–सुनाउने धार्मिक परम्परा रहेको छ । यस अवधिमा विभिन्न शक्तिपीठमा विशेष पूजा–आराधना गरिन्छ ।
एक महिनासम्म श्रद्धापूर्वक व्रत बसेर माघ शुक्ल पूर्णिमाका दिन जनै, सुपारी, पान, फूल, रोटी, अक्षतालगायत सामग्री चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार यसरी अर्घ्य अर्पण गरेपछि स्वस्थानी व्रत सम्पन्न भएको मानिन्छ ।

