दार्चुलामा वडातहबाटै अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस दिने व्यवस्था सुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका ९ स्थानीय तहका ६१ वडामध्ये हालसम्म ३३ वडाबाट यो प्रणाली सञ्चालनमा आएको छ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार नौगाड गाउँपालिकाका सबै ६ वडाबाट, मालिकार्जुनका ८ मध्ये ७, महाकाली र शैल्यशिखर नगरपालिकाका ९,९ वडामध्ये ५,५ वडाबाट अनलाइन सिफारिस सेवा सुरू गरिएको हो। त्यस्तै, दुहुँ गाउँपालिकाका ५ मध्ये २, लेखमका ६ मध्ये ३, व्यासका ६ मध्ये १ र मार्मा तथा अपीहिमाल गाउँपालिकाका समान २,२ वडाबाट सेवा उपलब्ध भएको छ।
प्रजिअ पौडेलका अनुसार अनलाइन प्रणाली सुरू भएपछि कागजात अभावका कारण सेवाग्राही खाली हात फर्किनुपर्ने समस्या हटेको छ। यसले अभिलेखीकरण र सेवा प्रवाह दुवैमा सहजता ल्याएको प्रशासनले जनाएको छ।

