काठमाडौँ– रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने १९ जना अझै बेपत्ता छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार बेपत्तामध्ये नौ जनाको शव फेला परिसकेको छ। फेला परेकामध्ये प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलो भन्ने स्थानको त्रिशूली नदी किनारमा भेटिएको हो।
घटनाबारे जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक तथा प्रहरी प्रवक्ता विनोद घिमिरेले भने, “कुल २० जना बेपत्ता मध्ये एक जनाको शव फेला परेसँगै अब १९ जना बेपत्ता रहेका छन्।”
बेपत्ताहरूमा २ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेका छन्।
बाढीबाट अहिलेसम्म ५७ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रभावित क्षेत्रमा ३८३ जना प्रहरी खटिइ उद्धार तथा खोजी कार्यमा जुटेका छन्।
बाढीका कारण नेपाल–चीन सीमास्थित मितेरी पुल बगेको छ भने २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा ईभी (विद्युत् सवारी) समेत बगाएको छ।
धुञ्चे–टिमुरे सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। रसुवागढी जलविद्युत् आयोजना (हाइड्रो) को ड्याम र भन्सार कार्यालयको यार्डमा समेत क्षति पुगेको छ।

