बझाङ – विप्लव समूह निकट रहेका नेताहरूमाथि फरक–फरक दुई अभद्र व्यवहार सम्बन्धी मुद्दामा कैद र जरिवानाको सजाय सुनाइएको छ। जिल्ला प्रशासन कार्यालय बझाङले २०८२ साल जेष्ठ २९ गते सुनाएको फैसलामा पाँच जनालाई जनही तीन–तीन महिना कैद र जरिवानाको सजाय सुनाइएको हो।
पहिलो मुद्दा नं. १८१ मा जाहेरीवाला दत्तराम अवस्थीको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी देवदत्त अवस्थी, विष्णुप्रकाश उपाध्याय र कमल थापामाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८(२) अनुसार जनही ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ।
त्यसैगरी, अभद्र व्यवहारसम्बन्धी दोस्रो मुद्दा नं. १८२ मा जाहेरीवाला जयबहादुर मल्ल लगायतको जाहेरीमा प्रतिवादी कमल थापा, तिलक कुँवर, अशोक धामी र जानकी खड्कालाई पनि सोही मितिमा जनही ३ महिना कैद र २ हजार रुपैयाँ जरिवाना हुने फैसला गरिएको छ।
जिल्ला प्रमुख अधिकारी कैलाश ठकुराठीका अनुसार, जिल्लामा अराजक, उच्छृंखल र कानुन विपरीतका गतिविधि गर्ने जोकोहीलाई कडा कारबाही गरिने स्पष्ट सन्देश दिन फैसला सुनाइएको हो। उहाँले कानुनको दायरामा रही मात्रै गतिविधि गर्न आग्रह गर्नुभएको छ।