काठमाडौं- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले दोस्रो जित हासिल गरेको छ। गएराति भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई पाँच विकेटले पराजित गर्दै लखनउको अपराजित यात्रामा पूर्णविराम लगाएको हो।
१६७ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.३ ओभरमा पाँच विकेट गुमाउँदै १६८ रन बनायो। शिवम दुबेले सर्वाधिक ४३ रन बनाए भने कप्तान महेन्द्रसिंह धोनीले २६ रनको योगदान दिए। लखनउका रवि बिश्नोईले दुई विकेट लिए।
त्यसअघि अटल बिहारी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रन बनायो। कप्तान ऋषभ पन्तले ६३ रन तथा मिचेल मार्शले ३० रन बनाए। चेन्नईका रवीन्द्र जडेजा र मथिशा पाथिरानाले समान दुई विकेट लिए।
हालसम्म सात खेल खेलेको लखनउले आठ अंक जोडेको छ भने समान खेल खेलेको चेन्नईले चार अंकसहित पुछारमा रहेको छ।
आईपीएल अन्तर्गत आज पन्जाब किङ्स र कोलकाता नाइट राइडर्स भिड्दैछन्।

