नरेश बिष्ट बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका १ मा ८ औं श्री बेताल देउरा त्रिवेणी धाम बृहत् साँस्कृतिक महोत्सव २०८१ सुरु भएको छ । हाम्रो गौरव, हाम्रो पहिचान; कला संस्कृतिको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूलनाराका साथ आजदेखि महोत्सव सुरु भएको हो ।
शुक्रबारदेखि सुरु हुने भनिएको महोत्सव लगातारको वर्षाका कारणले अवरुद्ध भएपछि आजबाट सुरु भएको आयोजकले जनाएको छ ।
सांस्कृतिक सम्पदा तथा कलाको संरक्षण तथा प्रवर्द्धन तथा स्थानीय संस्कृति उजागर गर्न महोत्सव आयोजना गरिएको महोत्सव समिति अध्यक्ष सुनिल नेपाली बताए ।
पहिलो दिन आज स्थानीय कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुतिका साथै ब्रोड भिजन एकेडेमीका विद्यार्थीहरूले देशभक्ति गीतमा आफ्नो नृत्य देखाएका थिए ।
महोत्सवको दोस्रो दिन भोलिपल्ट लोकप्रिय गायिका सिम्रन परियार, गायक प्रकाश थापा, धन बहादुर भण्डारी तथा गजलकार पूर्ण मल्लको प्रस्तुत रहनेछ । महोत्सव फागुन २२ गतेसम्म चल्नेछ ।
महोत्सवको मुख्य आयोजकमा केदारस्यूँ गाउँपालिका रहेको छ । महोत्सव संयोजकमा जीवन कुमार भण्डारी र सह:संयोजकमा कलक बहादुर बिष्ट रहनु भएको छ ।

