पर्सा —औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयमा एक वर्षको अवधिमा औषधिसम्बन्धी अपराधका २३ वटा मुद्दा परेका छन् । विभागले गत आर्थिक वर्षमा औषधिसम्बन्धी अपराधमा २३ जनाविरुद्ध मुद्दा चलाएको हो ।
पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन र धनुषामा औषधि सम्बन्धि बिभिन्न अपराध गरेकाहरुलाई कारवाहीको दायरामा ल्याइएको कार्यालयका सूचना एवम् फार्मेसी अधिकृत अरविन्द बानियाँले जानकारी दिए ।
‘बिना इजाजत औषधि ओसारपसार, बिना इजाजत दर्ता नरहेको औषधि ओसारपसार, प्रतिबन्धित औषधि ओसारपसार, औषधि ऐन २०३५ बिपरीतको कार्य, बिनाइजाजत औषधि खरिद बिक्री आदि अपराधमा २३ जनाविरुद्ध मुद्दा परेको थियो,’ उनले भने, ‘मुद्दा दायर गरिएकामध्ये चितवनका १०, पर्साका ४, बारा, रौतहटका ३, मकवानपुर र धनुषाका २/२ रहेका छन् ।’
कार्यालयको निरीक्षण टोलीले गत आर्थिक वर्षभरिमा ४ सय ३७ वटा फार्मेसी, २० वटा उद्योगको निरीक्षण गरेको थियो । कार्यालयको कार्यक्षेत्रमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली, मकवानपुर र चितवन पर्दछन् ।
कार्यालयमा ९ वटै जिल्लाका गरी कूल औषधि ३ हजार ७ सय ४२ औषधि व्यवसायी दर्ता छन् । गत आर्थिक वर्ष कार्यालयले ५१ फार्मेसीलाई निलम्बन गरेको बानियाँले जानकारी दिए । कान्तिपुर