बझाङ : आगामी वैशाख १५ गते बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं –१ को लागि हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले पनि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसले उपनिर्वाचनका लागि १० जनाको नाम सिफारिस गरेको हो ।
केन्द्रीय समितिको परिपत्र अनुसार तीन जनाको नाम सिफारिस गर्नुपर्ने भएपनि बझाङ जिल्ला समितिको बैठकले भने १० जनाको नाम सिफारिस गरेको हो ।
पार्टीको मर्यादाक्रम अनुसार सिफारिस हुनेमा सत्यराज भण्डारी, शान्ति बोहरा पुजारा, जगत प्रसाद जोशी, अभिषेक बहादुर सिंह, नन्दकृष्ण जोशी, धुर्वराज उपाध्याय, बिष्णु कुमार सिंह (जगत), लोकेन्द्र बहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडा रहेका छन् । पार्टी कार्यालय बझाङमा आकांक्षीहरू बीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि कसैले आवेदन फिर्ता लिन मानेनन् । सहमतिको प्रयास विफल भएपछि सबै जनाको नाम केन्द्रीय समिति र प्रदेश समितिमा सिफारिस गरिएको जिल्ला सचिव झलक कठायतले जानकारी दिए । समयको माग र पार्टिमा गरेको योगदानका आधारमा जिल्ला समितिले सबैको नाम पठाएको नेता कार्यकर्ताहरूको भनाई छ ।
बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं १, बाट निर्वाचित नेपाली काग्रेसका पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सवारी दुर्घटनामा निधन भए पछि यहाँ उपनिर्वाचन हुन लागेको छ । सुदूरपश्चिम सरकारको आन्तरिक मामिलामन्त्री भएको बेला गृहजिल्ला आउँदै गर्दा उनी सवार गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको थियो ।
यसैबिच नेकपा एमालेले उपनिर्वाचनको लागि यस अघि नै तीन जना उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । जिल्लाबाट दमन भण्डारी, जुना जाग्री र राधा विस्टको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको एमाले बझाङले जनाएको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने बझाङमा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको जनाएको छ ।

