
अछाम – अछामको वैद्यनाथमा लाग्ने ‘कोटिहोम’ उद्घाटन गर्न आज बिहीवार राष्ट्रपति रामचन्द्र पौडेल आउने भएका छन्।
बिहीवारदेखि २५ गतेसम्म वैद्यनाथ धाममा लाग्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल अछाम आउन लागेका हुन्।
कोटीहोम मुल आयोजक समितिका अनुसार आज बिहान राष्ट्रपति पौडेल ११ वजे कोटिहोम (महाकुम्भ)को समुद्घाटन गर्ने छन्।
नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम लाग्न लागेको हो। जसको सम्पूर्ण तयारी भइसकेको कोटिहोम मुल आयोजक समितिले जनाएको छ।
साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा आजदेखि २५ गते शिवरात्रीसम्म कोटिहोम महायज्ञ सञ्चालन हुनेछ। कोटिहोम महायज्ञमा झन्डै डेढ करोड खर्च हुने अनुमान छ।