
बैतडी – बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
मङ्गलबार दोगडाकेदारको सिल्लेगाडाबाट कालागाउँ जाँदैगरेको सुपप्र ००१००२ ज १५३७ नम्बरको जिप दिउँसो २ः४५ बजे दोगडाकेदार गाउँपालिका–२, कटौजपानीमा दुर्घटनमा परेको हो ।
जिप सडकबाट करिब एक सय मिटर तल खोलामा खसेको स्थानीयले बताएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा १५ वर्षीया मनीषा बिष्ट रहेकी छिन् । घाइते हुनेमा दोगडाकेदार –८ का, जिपचालक ३० वर्षीय भूपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया बिरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीया हरिमाया बिष्ट र १७ वर्षीय महेश बिष्ट घाइते भएका छन् ।
घाइतेको उद्धार गरी जिल्ला अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दराज जोशीले बताए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले जनाए ।

