
धनगढी – कैलालीको धनगढीबाट ९० किलोमिटर टाढा भारतको खिरीस्थित सिंगाही भेड़ौरा नगर पंचायतमा रहेको सिंगाही राजमहल पर्यटकीय दृष्टिकोणले निकै आकर्षक छ ।
सिंगाही भेड़ौरा नगर पंचायत प्राचीन खैरीगढ़ राज्यको राजधानी हो । अहिले सिंगाहीमा नेपाली मूलका नागरिकको बाक्लो बस्ती रहेको छ ।

स्वर्गीय महारानी सूरथ कुमारीले सन् १८९० मा उक्त राजमहलको निर्माण गराएकी थिइन् । कला, विशालता र सुन्दरताले गर्दा राजमहल अत्यन्तै आकर्षक छ ।

उक्त राजमहलको अगाडि काली मन्दिर तर्फ फर्केको महारानी सूरथ कुमारीको मूर्ति रहेको छ ।

महारानी सूरथ कुमारीद्वारा निर्माण गरिएको काली मन्दिर धर्म र आस्थाको प्रतिक रहेको छ । उक्त मन्दिरसँगै सूर्यदेव, चंद्रदेव, भगवान शंकर, काल भैरव, रामजानकी मन्दिर आदि मूर्ति रहेका छन् ।

काली मन्दिरको पूर्वीद्वारमा राजा ईन्द्रविक्रम शाहको प्रतिमा रहेको छ । उक्त अष्टकोणीय प्रतिमाको १९८४ मा स्थापना गरिएको हो । सन् १८५५ मा जन्मिएका राजा इन्द्रविक्रम शाहको १८८५ मा मृत्यु भएको थियो ।

