
दार्चुला – दार्चुलामा रोचक विवाह सम्पन्न भएको छ ।
अपि हिमाल गाउँपालिका–६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले ८० वर्षको उमेरमा सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह सम्पन्न गरेका हुन् ।
पनाती पनातिनी समेत भइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धूमधामसँग बिहे गरे । शुक्रबार बिहे गरेका धामी दम्पतिको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाति, ४ नातिनी, ३ नातिने बुहारी, ४ पनाती र ३ पनातिनी गरी जम्मा ३१ जना सदस्य रहेको बेहुला बाजेका नाति नाता पर्ने भगतसिंह धामीले जानकारी दिए ।
बेहुला (दुलहा) राइसिंह धामीलाई ८० वर्ष र बेहुली (दुलही) बिन्दु धामीलाई ७० वर्ष उमेर पुगेको उनले बताए । दुवै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् । दुलहा राइसिंहले दुलही बिन्दुलाई सिन्दुरपोते लगाउनुका साथै यज्ञ परिक्रमासहित सबै बिहेविधि पूरा गरेर घरभित्र सांस्कृतिक परम्पराअनुसार भित्राए ।