
धनगढी — सुदुरपश्चिममा क्रिकेटको सहर भनेर पहिचान बनाउँदै गएको धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ ।
धनगढी उपमहानगरपालिकासंगको साझेदारीमा ‘गो ड्रिमर्स‘ ले उप महानगरपालिका क्षेत्रमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
कार्यक्रम सञ्चालनका लागि शुक्रबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले समझदारी पत्रमा हस्ताक्षर गरे । दुबै पक्षबीच उपमहानगरपालिकाका दुई नमूना स्कुलहरुमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।
शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत छनौटमा परेका धनगढी- १२ स्थित सिद्धनाथ मावि, जुगेडा र धनगढी- १८ स्थित चन्द्रोदय मावि, फुलबारीमा उक्त कार्यक्रम सञ्चालन हुने भएको छ । हस्ताक्षर कार्यक्रममा नगरप्रमुख गोपाल हमालले नमूना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्नका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
‘नयाॅ प्रतिभालाई उत्पादन गर्ने लक्ष्यका साथ हामीले विगतदेखि नै धनगढीलाई क्रिकेटको सहरका रुपमा स्थापित गर्न अग्रसर भएका सुवाश शाहीको टिमसँग क्रिकेट विकास कार्यक्रमको सम्झौता गरेका छौं,’ नगरप्रमुख हमालले भने, ‘यो नमूना स्कुलमा क्रिकेटको नर्सरी तयार गर्ने समझदारी हो । क्रमिक रुपमा अन्य विद्यालयहरुमा यो कार्यक्रम लागु गर्दै जानेछौं ।’
गो ड्रिमर्सका अध्यक्ष शाहीले अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको बताए । नेपाली क्रिकेटको विकासका लागि स्थानीय तहसॅगको सहकार्यमा हुन लागेको यो कार्यक्रम मोडेलका रुपमा स्थापित भएको उनले बताए । ‘भविष्यमा नेपालबाट अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउन चाहान्छौं,’ शाहीले भने ।