काठमाडौँ – वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखालाई यस पटक उत्पादनतर्फको भाषा परीक्षा व्यवस्थापन गर्न सकस परेको छ ।
दक्षिण कोरियाको उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अनुमानभन्दा धेरै आवेदन परेपछि ईपीएस शाखालाई भाषा परीक्षा व्यवस्थापन गर्न गाह्रो भएको हो ।
ईपीएस शाखा र कोरिया मानव संसाधन बोर्ड (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेको तर अनुुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ ।
ईपीएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरेकोमा एक लाख ६४ हजारभन्दा बढीले आवेदन दिएका छन् ।
शाखाका अनुसार इपिएस अन्तर्गत लिइने भाषा परीक्षा समयमा सम्पन्न गर्न र परीक्षा तालिका सार्वजनिक गर्ने विषयमा कोरियन पक्ष (एचआरडी) सँग छलफल भएको छ । शाखाका निर्देशक मैयाँ कँडेलले यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले आउँदो ६ गतेदेखि प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि तयार भएको बताए ।
शाखाले दैनिक चार चरणमा आठ सय जनाले भाषा परीक्षा दिन सक्ने गरी पूर्वाधार तयार गर्दै आएको तर परीक्षार्थी धेरै भएकाले एक ‘सिफ्ट’ थपेर पाँच वटा पुर्याउने तयारी गरेको उनले बताए । यसअघि भैँसेपाटीस्थित परीक्षा केन्द्रमा ‘युविटी टेस्ट ट्याब’ जडान गरेर भाषा परीक्षा लिइँदै आएको थियो ।
ईपीएस शाखाका अनुसार पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइने छ । त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुने शाखाले जनाएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३