
धनगढी – सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रूपमा निर्वाचित भएका छन् । चारै जनाको शपथग्रहण समेत भएको छ ।
प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बिच चारै जना सभापतिलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा घनश्याम चौधरी र सामाजिक विकासमा माया पन्त रहेका छन् ।
निर्वाचित सभापतिमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा (एमाले), चौधरी नागरिक उन्मुक्ति र पन्त नेकपा (एकीकृत समाजवादी ) का प्रदेश सभा सदस्य हुन् ।
उनीहरुले मङ्गलबार सभापति पदमा मनोनयनगरेका थिए । नेकपा (माओवादी केन्द्र) ले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबिच भएको छ ।

