
धनगढी – धनगढी उपमहानगरपालिकामा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ ।
उपमहानगरपालिका र नगर विकास कोषको संयुक्त लगानीमा अत्याधुनिक बसपार्क निर्माण गर्न लागिएको नगर प्रमुख गोपाल हमालले बताएका छन् ।
नयाँ बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको छ ।
धनगढी–३, स्थित बसपार्क निर्माणस्थलको वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको उनले जानकारी दिए । यसै महिनाभित्र वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर स्वीकृतिका लागि प्रदेश सरकारसमक्ष पेस गरिने उपमहानगरपालिकाले जनाएको छ ।
नगर प्रमुख हमालका अनुसार बसपार्क निर्माणमा करिब ९९ करोड ३५ लाख रुपैयाँ लाग्ने स्टिमेट छ । बसपार्कमा दुईतले टर्मिनल भवनका साथै लामो, मध्यम र छोटो दूरीमा चल्ने सवारीसाधन पार्किङको छुट्टाछुट्टै क्षेत्र बनाइनेछ ।
धनगढीको पहिचान बन्ने गरी बसपार्कको डिजाइन तयार गरिएको नगर प्रमुख हमालले बताए । दुई वर्षमा बसपार्क निर्माणको काम पूरा हुने मेयर हमालले बताए ।
नगर विकास कोषले बसपार्क निर्माणको कुल लगानीको ८० प्रतिशत रकम ८ प्रतिशत ब्याजमा ऋण लगानी गर्ने बताइएको छ ।
नयाँ बसपार्कबाट वार्षिक १३ करोड ६६ लाख रुपैयाँ आम्दानी हुने उपमहानगरले अनुमान गरेको छ ।