
धनगढी – स्वास्थ्य, शिक्षा क्षेत्रको समग्र सुधार र सबैको समान पहुँचको मागसहित धनगढीमा सत्याग्रह थालेका डा. गोविन्द केसीले आज अनसन तोडेका छन् ।
धनगढी उपमहानगरपालिका–७ देवहरियाकी रेनुका चौधरी र धनगढी उपमहानगरपालिका –१ की अञ्जली नेपालीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् ।
डा. केसीले गएको शुक्रबारबाट तीन दिनका लागि अनसन थालेका थिए
अनसन तोड्दै उनले सुदूरपश्चिमका जनताको सहज स्वास्थ्योपचारका लागि आफूले अनसन बसेको बताए ।
सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको पढाइ र दक्ष जनशक्ति उत्पादनका लागि आफूले यो लडाइ लडिरहेको स्पष्ट पार्दै उनले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनुमा आफ्नो कुनै आपत्ति नरहेको स्पष्ट पारे ।
“मैले यहाँकै जनताको सुलभ रूपमा स्वास्थ्योपचारका लागि अनसन बसेको हो । यसमा मेरो आफ्नो कुनै स्वार्थ छैन” केसीले भने, “यसका लागि म लडिरहनेछु । कोही कसैसँग डराउने वाला छैन ।”
अनसन तोडेका डा. केसीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिने उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए ।

