
कैलाली – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलाली आउँदै छन् । आज साँझ बुद्ध एयर मार्फत ओली धनगढी आउने जनाइएको छ ।
१४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली आउन लागेका हुन् ।
अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू आउँदै छन् । महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने भोली आउँदै छन् ।
भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए ।
१४ गते बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाट बाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन् । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ ।
झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन् । यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ ।
प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्त्व र सान्दर्भिकता दर्साउने बताइएको छ ।