
धनगढी – आज नेपाललगायत विश्वभर मधुमेह दिवस मनाइँदैछ ।
सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रूपमा मान्यता दिएको हो ।
मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिनको अवसरमा सन् १९२२ देखि यो दिवस मनाउन थालिएको हो ।
मधुमेह एक नसर्ने रोग हो । सामान्यतया यस रोगलाई चिनीरोग भनेर पनि चिनिन्छ । पछिल्लो समय विश्वमा नै नसर्ने रोग मृत्युको प्रमुख कारणको रूपमा देखा पर्न थालेका छन् ।
अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वमा ५० करोड ३७ लाख मानिस मधुमेहबाट ग्रसित छन् । यो सङ्ख्या सन् २०३० मा ६० करोड ४३ लाख र सन् २०४५ मा हरेक आठमध्ये एक जनामा मधुमेह देखा पर्ने र त्यो सङ्ख्या बढेर ७० करोड ८३ लाख पुग्ने अनुमान गरिएको छ ।