
डडेल्धुरा – तिहार अन्तर्गत आज गाेवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गर्ने गरिन्छ ।
आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गाेवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गाेवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गाेवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धार्मिक विश्वास छ ।
भगवान विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ ।
यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो । यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ ।
यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ । भोलि तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । भोलि बिहान १० बजेर ५१ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।