सुरेन्द्र खत्री / बझाङ
बाढीपहिरोका कारण अवरुद्ध भएको गण्डकीगाड लघु जलविद्युत आयोजना पुनः सुचारु भएको छ । जिल्लाको केदारस्यु गाउँपालिका वडा नं ८ गण्डकीमा रहेको गण्डकी गाड लघु जलविद्युत आयोजना गत साउनमा आएको अविरल वर्षासँगै बाढीपहिरोका कारण अवरुद्ध भएको थियोे । जलविद्युत अवरुद्ध भएको करिब दुई महिनापछि आजबाट पुनः सुचारू भएको स्थानीयले बताए ।
मेकानिकल विश्वासका अनुसार पावरहाउसमा रहेको मेसिन भित्र पानी पसेपछि मेसिन खराब भएको थियो । उनले भने “जेनेटरमा भएकाे सामान र ईयलसि बाेर्ड भित्रकाे सबै सामान फेरिएपछि विद्युत सञ्चालन गरेका छौ ।” गाउँमा बत्ती नभएर जनतालाई सास्ती भएपछि १३ दिनसम्म अथक प्रयास गरेर वडामा मेसिन बिग्रिएर अवरुद्ध भएको बत्ती जलाउन सफल भएको केदारस्यु गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष सुरेस जेठाराले बताउनुभयो ।

उहाँले बुटवलमा एक जना ईलेक्ट्रोनिक ईन्जिनियरसंग सल्लाह लिइसकेपछि सामान मगाएर दुई जना मेकानिकल प्राबिधिक वडामै बोलाएपछि नयाँ सामान फेरिएको बताउनुभयो । दुई महिनासम्म अन्धकारमा बसेका स्थानीयहरु वडाको पहलमा विद्युत सञ्चालन भएपछि खुशी भएका छन् । यसैबीच वडाध्यक्ष जेठाराले विद्युत सञ्चालनमा ल्याउन सहयोग गर्ने सम्पूर्ण वडावासि,कार्यसमिति र प्राविधिकहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।